
काठमाडौं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण जटिल बन्दै गएको छ । आजका पत्रपत्रिकाहरुले ययो समाचारलाई विशेष स्थान दिएको पाईन्छ । प्रहरीले दोषिलाई बचाउन निर्दोष माथि अन्याय गर्दा घटना थप जटिल बनेको हो। आजको नागरिक दैनिकले एसपी र डिएसपीको डिएनए जाँच गर्न माग शिर्षकमा मुख्य पृष्ठमा समाचार छापेको छ ।
समाचारमा भनिएको छ्, निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्। प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।
‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’
निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन्। एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन्। ‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’
घरमा भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आउँदा पनि छोरीको हत्यामा प्रहरीभित्रैको मान्छेको हात भएको शंका छ, प्रहरीभित्रै अनुसन्धान गरिदिनुहोस् भनेर आफूले अनुरोध गरेको उनले स्मरण गराइन्।
निर्मलाका बुबा यज्ञराज पन्त प्रहरी सुरुदेखि नै धम्क्याउन र दोषी बचाउने खेलमा मात्र लागेको बताउँछन्। ‘अहिलेसम्म दोषी पत्ता नलाग्नुको कारण छोरीको हत्यामा प्रहरी संलग्न भएकाले नै हो,’ उनले भने, ‘कानुन सबैलाई लाग्नुपर्छ, शंकास्पद प्रहरीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्छ।’ सुरुदेखि प्रमाण नष्ट गर्न खोज्ने प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।
‘शक्तिशाली हत्यारा बचाउन प्रहरीले नियतबस प्रमाण नष्ट गर्ने, अनुसन्धान गर्नुपर्नेलाई नगर्ने र निर्दोषलाई दोषी साबित गर्न खोजेको हो,’ भीमदत्त नगरपालिका–२ का स्थानीय तथा भूतपूर्व सैनिक मोतीकुमार नेपाल भन्छन्। आफूले सुुरुमा प्रमाण र केही सुझाव दिन खोज्दा अनुसन्धान गर्न सिकाउनु पर्दैन भनेर प्रहरीले धम्क्याएको उनी बताउँछन्। प्रहरीले निर्मलाका पक्षमा अवाज उठाएमा गोली हान्ने धम्की दिएको उनले बताए।
यस्तै निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन्। उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण गरिने बताए । एसपी बिष्टको पनि डिएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले भने, ‘ठूलोसानो जोसुकै भए पनि सबैको डिएनए परीक्षण गरिन्छ।’
यस्तै आजको नेपाल समाचारपत्रले पनि निर्मला हत्या निर्मला हत्या प्रकरण थप रहस्यमय बन्दै भनेर समाचार छापेको छ । समाचारमा भनिएको छ्, कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ ।
प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर पुनः काममा फर्किनुले घटना रहस्यमय बन्दै गएको छ ।
जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्धारा घटनामा दोषी भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेका छन् । निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि विष्ट साधारण तारेखमा छुटेका हुन् ।
मानसिक सन्तुलनसमेत गुमाएका विष्टलाई पन्तको वलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले गत ४ भदौमा घटनास्थलनजिकैबाट पक्राउ गरेको थियो ।