यात्रुहरु नारायणगढ मुग्लिन सडकमै अलपत्र

२६ भाद्र २०७५, मंगलवार १८:२३

 

चितवन । भोलि हिन्दू नेपाली नारीहरुको ठूलो पर्व तीज । आज तीजको दर खाने दिन । दर खाने दिन साँझसम्म जसरी पनि माइत पुग्ने चेलीहरुलाई गए रातिदेखि नारायणगढ मुग्लिन सडकखण्डमा आएको पहिरोले अलपत्र पारेको छ ।

अविरल वर्षासँगै आएको पहिरोले करीव १७ घण्टासम्म सडक अवरुद्ध बन्दा तीजको दिन माइत हिँडेका चेलीवेटी हरु अलपत्र परेका छन सडकमा सयौं सवारी साधान रोकिएका छन् भने, हजारौं यात्रुहरु बीच बाटोमा नै छन् ।

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नारायणगढ मुग्लिन सडक हुँदै माइत हिडेका चेलीहरु बीच सडकमा नै अलपत्र परेका छन् । गए रातिदेखिका सवारी साधन र यात्रुहरु वीच बाटोमा अलपत्र छन् ।

सोमबार रातिदेखि परेको मुशलधारे वर्षाको कारण नारायणगढ(मुग्लिन सडकको विभिन्न ठाउँमा पहिरो खसेपछि हजारौं सवारीसाधनहरु सडकमै रोकिएका छन ।

नारायणगढ(मुग्लिन सडकको सत्र किलो, चारकिलो, गाईघाट र जलबिरेलगायतको ठाउँमा रातिदेखि पहिरो खसेको छ । जलबिरे र कालीखोलाको पहिलो हटाएर सडक एकतर्फी सञ्चालन भए पनि अन्य ठाउँमा भने पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चारकिलोमा सबैभन्दा ठूलो पहिरो आएको छ । माथिबाट पहाड नै झरेकोले पहिरो पन्छाउन निकै समस्या भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । उनका अनुसार आज दुईतर्फी सडक खुलाउन सम्भव छैन । ‘चारकिलोमा एकतर्फीसम्म गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं’ खनालले भने ‘काम गर्न नै समस्या भैरहेको छ ।’