
काठमाडौं । प्रदेश सरकारहरुले आफ्नो क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउनु पर्ने प्रदेश सरकाकरको उत्तर दायित्व भएको भन्दै प्रहरीहरु प्रदेश मातहत हुनुपर्ने माग गरेका छन् । यदि केन्द्र सरकारले प्रदेश मातहत प्रहरी दिन सक्दैन भने प्रदेश प्रहरी राख्न पाउने व्यवस्था गरिनु पर्ने माग उनीहरुले राखेको समाचार आजको कान्तिपुर दैनिकमा छ । समाचार अनुसार जिल्ला प्रशासन कार्यालयलाई प्रदेशप्रति उत्तरदायी बनाइनुपर्ने, नभए प्रदेशले जिल्लामा छुट्टै प्रशासनिक कार्यालय स्थापना गर्न पाउनुपर्ने माग राखेका छन् ।
संघ (केन्द्र) सरकारले प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीका कार्यालयजस्ता दैनिक प्रशासन र सुरक्षा कार्यान्वयनका इकाइहरुलाई आफूमातहत नै राखेको छ। प्रदेश सरकारले प्रदेश प्रहरीको परिचालनको जिम्मा पनि यथाशीघ्र आफूले पाउनुपर्ने माग गरेको छ। भदौ २१ गते पोखरामा सम्पन्न मुख्यमन्त्रीहरुको भेलाले प्रमुख जिल्ला अधिकारी र सुरक्षाको निकायको ‘चेन अफ कमान्ड’ प्रदेश सरकार मातहत आउनुपर्ने निष्कर्ष निकाल्दे त्यसअनुसारको व्यवस्था मिलाउन केन्द्र सरकारलाई आग्रह गरेको हो।