२५ दिनमै सकियो ‘बुलबुल’, ‘भ्यालेन्टाइन डे’मा प्रदर्शन हुँदै

२५ भाद्र २०७५, सोमबार १७:०१

नेपाली चलचित्र ‘बुलबुल’को छायांकन २५ दिनमै सकिएको छ । नायिका स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको उक्त चलचित्र ‘भ्यालेन्टाईन डे’ मा प्रदर्शनमा आउने छ । गत साउँन अन्तिम साता फ्लोरमा गएको ‘बुलबुल’को अब एउटा गीत मात्र छायांकन हुन बाँकी रहेको छ । निर्देशक बिनोद पौडेलले निर्देशन गरेको ‘बुलबुल’मा एक टेम्पो चालक महिलाको कथालाई लिईएको छ ।

चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रकै लागी उनले करिब एक महिनाभन्दा बढी लगाएर टेम्पो चलाउन सिकेकी थिईन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।

सुटिङ पूराभएसँगै फिल्मले प्रदर्शन मिती पनि सार्वजनिक गरेको छ । निर्माता अबिरल थापाका अनुसार चलचित्र फागुन ३ गते अर्थात ‘भ्यालेन्टाइन डे’को अवसरमा रिलिज हुने जानकारी दिएका छन् ।

चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतका कलाकारको चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर रहेको छ । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल संयुक्त रुपमा निर्माण गरेका हुन् ।