
लाल बहादुर वि.क, काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षिय निर्मला पन्तले सरकारी छानबिन समितीबाट न्याय नपाउने भन्दै छानबिन समितीकै एक सदस्यले राजिनामा दिएका छन् । पन्तको हत्यारा पत्ता लगाउन सरकारले गत साउन १० गते घटनाको छानबिन गर्न गठित उच्चस्तरीय सरकारी समितिकै सदस्यले राजीनामा दिएका हुन् ।
सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले छानबिन समितिबाट निर्मलालाई न्याय मिल्न नसक्ने जनाउँदै राजीनामा गरेका हुन् ।
उच्चस्तरिय छानबिन समितिको अनुसन्धानमाथि असन्तुष्टि जनाएका केसीले सोमबार लिखितरुपमा राजीनामा दिँदै आफू त्यस समितिमा नरहेको घोषणा गरेका हुन् । समितिबाट राजीनामा दिने क्रममा उनले सरकारी छानबिन समितिबाट निर्मलाले न्याय पाउनेमा आफु विश्वस्त नरहेको पनि जनाएका छन् ।
केसीले निर्मलालाई न्यायका लागि दबाब दिन आफूले समितिबाट राजीनामा दिएको पत्ररकार सम्मेलनमा बताए । केसीले राजीनामा पत्र हुलाकबाट सरकारलाई पठाएर समितिमा नरहेको जानकारी गराइएसकेको पनि पत्रकारहरुलाई बताए ।
सरकारले निर्मला हत्या प्रकरणको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति बनाएको थियो ।
त्यस समितिले १५ दिनसम्म कञ्चनपुर बसेर अनुसन्धान गर्दा हत्याराको कुनै सुराक नै नभेटी काठमाडौँ फर्किएको थियो। समिति संयोजक मैनालीले निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले गम्भीर लापरबाही गरेको मात्रै बताएका थिए ।