
दाङ । दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट उर्जा निकाल्ने भएको छ । उपमहानगरपालिकाले गल्ने फोहोरहरु जम्मा गरेर उर्जा उत्पादन गर्न लागेको हो ।
उपमहानगरपालिकाले उर्जा उतवादनको लागी बोलपत्र मार्फत लगानी गर्न ईच्छुक कम्पनीहरु छनौट गरेर उत्पादन गनको लागी गत आवमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।
बोलपत्रबाट नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेपछि उक्त कम्पनीले नै ऊर्जा उत्पादन गर्ने दिने सम्झौता गरेको उपमहानगरपालिकाले जनाएको छ । घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले कम्पनीसँग उपमहानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको बताउनुभयो । कम्पनीसँग सम्झौता भइसकेको र ऊर्जा उत्पादन गर्नका लागि अब संरचना निर्माण कार्य अघि बढ्ने छ ।
सम्झौतामा कम्तीमा रु १० करोडको लगानीमा फोहरबाट ऊर्जा उत्पादन हुने छ । त्यसको लागि राज्यले ४० प्रतिशत दिने र ६० प्रतिशत रकम आफैँ कम्पनीले लगानी गर्नुपर्ने छ । सम्झौताअनुसार कम्पनीले ग्यास प्लान्ट निर्माण र अन्य आवश्यक पूर्वाधारसमेत आफैँ निर्माण गर्नुपर्ने छ ।
उक्त कम्पनीसँग भएको सम्झौताअनुसार २० वर्षसम्म फोहरबाट ऊर्जा उत्पादन गर्नेछ । सम्झौता सकिएपछि कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । छनोट भएको कम्पनीले गल्ने फोहरबाट ग्यास उत्पादन गरी बजार व्यवस्थापन पनि गर्ने छ । त्यसैगरी कम्पोष्ट मलसमेत उत्पादन गर्न सक्ने छ ।
अहिले संरचना निर्माणका हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तिम अवस्थामा पुगेको उपमहानगरपालिकाले जनाएको छ। फोहरबाट ऊर्जा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणस्थलको अध्ययन गरी प्रतिवेदन निर्माणको कामसमेत अन्तिम अवस्थामा पुगेको बताइएको छ ।