६ हजार दिएर १० लाखको तमसुक

२५ भाद्र २०७५, सोमबार १२:३८

 

प्युठानका एक व्यक्तिले गुल्मीका एक बृद्धलाई ६ हजार रुपैयाँ दिई १० लाखको तमसुक बनाएर उनको घर जग्गा बन्दकी पास गरेका छन् ।

प्युठानको साविक वादीकोट गाविस वडा नम्वर ७ का रेकमबहादुर खत्री क्षेत्रीले गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६ घिउपानीका ७८ बर्षीय बृद्ध ज्ञानबहादुर घर्ती क्षेत्रीलाई जालसाजी गरेका हुन् ।
रेकमबहादुरले यस्तो जालसाजी गर्दैछन भन्ने थाहा पाउनसाथ ज्ञानबहादुरकी बुहारी गीता घर्तीले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत उक्त कार्य रोक्न खोज्दा पनि उनले बेनामी कागज गराई जग्गा पास गराएका थिए ।

रेकमबहादुरलाई उक्त जालसाजी गर्न सघाउने मुख्य ब्यक्तिहरु गुल्मी पुर्कोटदहका चिन्तबहादुर कुँवर र ताकमान थापा रहेका छन् । बृद्धकी श्रीमतिको मृत्यु भएकोले उनी छोराहरुसँग छुट्टिएर एक्लै बस्दै आएका थिए । दुई छोराहरुमध्ये जान्ने बुझ्ने एक छोरा बिदेशमा छन् ।

पीडित परिवारका अनुसार चिन्ताबहादुर र ताकमानले रेकमबहादुरले जीवनभर पाल्ने र उपचार गरीदिने लगायतका प्रलोभन देखाउँदै छोराहरुलाई अंशविहिन गराउने प्रपञ्च रचेका थिए ।
सोही योजनाअनुसार चिन्ताबहादुर र रेकम तमसुकमा साक्षी मात्रै बसेनन्, घर्तीलाई तम्घास ल्याउन र जग्गा पास गराउने काममा समेत सक्रियता देखाएका थिए । तर, उनीहरु दवैले लेनदेनबारे आफुहरुलाई थाहा नभएपनि हस्ताक्षर गरेको बताए ।

उनीहरुले बृद्धलाई फकाईफुलाई तम्घासको एक होटलमा राखेर १० लाख रुपैयाँको तमसुकमा औठाछाप लगाउन लगाएका थिए । तमसुकमा १० बर्ष भित्र उक्त रकम बुझाउन नसके जग्गा पच हुने गरी २०४ नं को दृष्टि पास गराईएको छ ।

मालपोत अधिकृत खुपबहादुर केसीले पास गर्ने बेला सोध्दा बृद्धले उक्त रकम ऋण लिएको हो भन्दा हो भने पछि हस्ताक्षर गरेको बताए ।

रेकमबहादुर खत्रीले घर्तीलाई २०६९ सालमा ४ लाख दिएको, २०७३ सालमा ३ लाख दिएको र २०७४ सालमा १ लाख ५० हजार दिएको र १ लाख ५० हजार ब्याज जोड्दा १० लाख लिनु पर्ने तमसुक गरिएको बताए ।

तर, बृद्धले भने आफूलाई यसअघि खत्रीले कुनै पैसा नदिएको, तम्घास आएर ६ हजार रुपैयाँ दिएको र बाँकी रकम आबश्यकता अनुसार बेला बेलामा आफुलाई दिने गरी फकाएको बताए । उनले बन्दकी लिएको जग्गा सालझण्डी ढोरपाटन सडक छेवैको महंङ्गो मुल्य पर्ने स्थानमा छ । अरु बाँकी जग्गा खर ख¥यान मात्रै रहेको उनका जेठा छोरा कृष्ण र कान्छा पदम घर्तिले बताए । ‘हामीहरु अब सुकुम्वासी बन्दैछौं, अरु जग्गा हाम्रो नाममा छैन । हाम्रो अंश बेचियो हामीलाई बचाई दिनुप¥यो’ दुवैले एकसाथ भने ।

बृद्धमा पनि लालच देखियोः सिडिओ
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जग्गा अर्कोलाई दिनुमा बृद्धमा पनि लालच देखिएको प्रतिकृया दिए ।
आफुले पैसा पाउने कुरामा बृद्ध प्रलोभित भएको देखिन्छ । उनले भने –‘ ती मतियार दुई जनालाई बोलाएर निगरानीमा बस्न लगाइएको छ । खास दोषी खत्रीको खोजीकार्य जारी छ । घटनाप्रति प्रशासन गम्भीर छ । छिट्टै सवै जनालाई सम्पर्कमा ल्याएर छलफल गराइन्छ ।’

यसैवीच जग्गा पास गराएको थाहा पाउनासाथ विदेशमा रहेका उनका छोरा घर आएर आफ्नो समस्या विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता वसन्त गैरे र पार्टीका जिल्ला सेक्रेटरी खिम खड्कालाई सुनाए ।
यो सँगै बृद्धका छोराहरुले जिल्ला प्रशासनमा समेत उजुरी दिए । सेक्रेटरी खड्काले तमसुकमा साक्षी बस्ने तकमान थापा र चिन्तामणी कुँवर पार्टीको सम्पर्कमा आएको र आफूहरुबाट गल्ती भएको स्वीकारर्दै आईन्दा गल्ती नगर्ने तथा उक्त जग्गा फिर्ता गराउन सहयोग गर्ने जनाएको बताएका छन् ।

रातोपाटी बाट