भारतले आयोजना गरेको संयुक्त सैन्य अभ्यास नेपाल सहभागी नहुने

२४ भाद्र २०७५, आईतवार १७:५८

भारतले आयोजना गरेको संयुक्त सैन्य अभ्यास नेपाल सहभागी नहुने भएको छ । बिमस्टेक देशका सदस्य राष्ट्रका सेनाहरुबीच भारतमा हुन गैरहेको संयुक्त अभ्यास नेपाल नजाने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा रक्षा मन्त्रालयमार्फत सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएपछि नेपाली सेना नजाने भएको हो ।

यसको अहिले आलोचना भैरहेको छ । नेपालले एक थरि जान्छु र अर्को थरी जादैन भन्नु नेपालको कुटनीतिक लहडबाजी हो रहेको अधिकांसले बताएका छन् । अर्काथरी भने बिमस्टेकले गरेको निर्णय नभई भारतको चाहनामा हुन लागेको सैन्य अभ्यासमा नेपाल सहभागी नहुनु ढिलै भए पनि नेपालले गरेको सही निर्णय हो भन्ने ठान्दछन् ।
काठमाडौंमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका थिए । बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुमध्ये सबैभन्दा शक्तिशाली र चतुर मोदीको यो प्रस्तावमा कसैले असहमति जनाएनन् । नेपालसहित सबै सदस्य देशले मौखिक रुपमा सहमति जनाए ।

फलस्वरुप भारतको पुणेमा सेप्टेम्बर १० अर्थात सोमबार संयुक्त सैन्य अभ्यासको तिथि तोकियो । यसअनुसार नेपाली सेनाले आफ्नो तयारी थाल्यो । तीन जना सैनिक अधिृकत त ओलीले भाग नलिने निर्णय गर्नुअघि नै पुणे पुगिसकेका थिए । तर भारतको चाहनामा हुन लागेको सैन्य अभ्यास चीन विरुद्धको सांकेतिक प्रदर्शन हुन सक्ने भन्दै सत्तारुढ नेकपाभित्रै असहमति देखियो । अन्यत्रबाट त खुलेरै विरोध भयो ।

यसअघि गृह र परराष्ट्र मन्त्रालय सम्हालेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, गृह र रक्षा मन्त्रालय सम्हालेका नेता भीम रावल र सैन्य क्षेत्रसँग जानकारहरुले प्रधानमन्त्रीलाई भेटेरै यसबारे पुनर्विचार गर्न सुझाव दिए । भारतीय स्वार्थमा सैन्य अभ्यास गरिनु गलत भएको भन्ने सबैको विचार सुनेपछि प्रधानमन्त्रीले सहभागी नहुन रक्षा मन्त्रालयमार्फत नेपाली सेनालाई निर्देशन दिएको हो भन्ने कुरा बाहिर आएको छ ।

बिमस्टेकको एउटा उदेश्य आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण गर्नु पनि हो । बिमस्टेकको यही उदेश्य र प्राथमिकतालाई आधार बनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अभ्यासमा जोड दिएका हुन् ।

तर भारतले सार्कलाई ओझेलमा पारेर बिमस्टेकलाई महत्व दिन खोजेको सबैसामु छर्लंग छ । भारतका सुरक्षा मामिलाका जानकारहरुले समेत बिमस्टेकको नाममा संयुक्त सैन्य अभ्यास गरेर भारतले चीन र पाकिस्तानलाई आफ्नो शक्ति देखाउन खोजेको बताउँदै आएका छन् । यसबाट प्रष्ट हुन्छ कि बिमस्टेकलाई भारतले चीन र पाकिस्तानलाई काउन्टर दिनको लागि प्रयोग गर्न चाहन्छ । यसैअनुसार भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको हो ।

अर्को कुरा भारतमा आमचुनाव नजिकिंदैछ । योबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल लगायत देशलाई जसरी पनि आफ्नो अनुकूलमा राख्न चाहन्छन् । बिमस्टेकमा सहभागी देश आफ्नो एजेण्डामा चलेका छन् भनेर देखाउन पनि मोदीले सैन्य अभ्यासको प्रस्ताव गरेका हुन् भन्ने आम बुझाई आफैमा गलत पनि छैन ।

अर्को महत्वपूर्ण कुरा केही दिनपछि चीनमा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुँदैछ । बिमस्टेकअघि भारतका सञ्चारमाध्यमले नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यासलाई नेपाल र भारतबीच अविश्वासको वातावरण सिर्जना भएको भनेर विश्लेषण गरे । भारतीय सञ्चारमाध्यममा प्रमुखताका साथ आएको यो विश्लेषण बुझेर मोदीले बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका हुन् ।

मोदीको प्रस्तावमा हुन लागेको यो सैन्य अभ्यास नेपाल र चीनबीच हुने सैन्य अभ्यासको एक दिनअघिसम्म चल्नेछ ।

विभिन्न देशहरुले दुई पक्षीय रुपमा सैन्य अभ्यास गर्ने परम्परा पुरानै हो । नेपालले पनि भारत, चीन, अमेरिका लगायत देशसँग यस्तो सैन्य अभ्यास गर्दै आएको छ ।

यही परम्पराअनुसार नेपाल र चीनबीच सेप्टेम्बर १७ अर्थात असोज १ देखि चीनको सिचुवान प्रान्तको छेङ्दुमा सैन्य अभ्यास हुँदैछ । नेपाल र चीनबीच हुन लागेको यो दोस्रो सैन्य अभ्यास हो । यसअघि अघिल्लो वर्ष नेपाल र चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास भैसकेको छ ।

यो सैन्य अभ्यास कुनै छिमेकी देशप्रति लक्षित होइन । भारतलगायत देशसँग जस्तै नेपालले चीनसँग पनि दुईपक्षीय सैन्य अभ्यास गर्न लागेको मात्र हो ।

चीनसँग पहिले नै तय भएको सैन्य अभ्यास सुरु हुनुभन्दा पहिले भारतले बिमस्टेक देशहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेर नेपाल चीन सैन्य अभ्यासलाई छायामा पार्न खाजेको थियो । बिमस्टेक सदस्य राष्ट्रहरुको सैन्य अभ्यासमा नेपाल सहभागी भएको भए चीनसँगको सम्बन्धमा पनि असर पर्न सक्थ्यो । नेकपाका धेरै नेताले यस्तो जोखिम नलिन प्रधानमन्त्री ओलीलाई दवाव दिएपछि अन्तिम समयमा नेपालको सहभागिता रोकिएको हो ।